धौलागिरि क्षेत्रका चार जिल्लालाई कार्यक्षेत्र बनाएर म्याग्दीको सदरमुकाम बेनीमा पूर्वाधार विकास डिभिजन कार्यालय स्थापना गरिएको छ । म्याग्दी, बागलुङ, पर्वत र मुस्ताङ हेर्ने गरी संघीय सरकारको पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको स्थानीय पूर्वाधार विकास विभाग मातहत यो कार्यालय सञ्चालनमा आएको हो ।
जिल्ला समन्वय समितिको भवनमा स्थापना भएको उक्त कार्यालयको शुक्रबार गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली (सुविन) ले उद्घाटन गरे । मन्त्रिपरिषद्को २०८३ असोज १३ गतेको निर्णयअनुसार म्याग्दीमा यो डिभिजन कार्यालय स्थापना भएको डिभिजन प्रमुख सिनियर डिभिजनल इन्जिनियर जनकराज पन्तले जानकारी दिए । कार्यालयमा हाल सिनियर डिभिजनल इन्जिनियरको नेतृत्वमा १४ जना स्थायी प्रकृतिका प्राविधिक तथा प्रशासनिक दरबन्दी कायम गरिएको छ ।
डिभिजन प्रमुख पन्तका अनुसार चालु आर्थिक वर्ष २०८३/८४ मा यस कार्यालयमार्फत ३० वटा महत्वपूर्ण पूर्वाधार कार्यक्रम सञ्चालन हुनेछन् । जसमा ११ वटा वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रम, १५ वटा स्थानीय स्तरका सडक पुल तथा सामुदायिक पहुँच सुधार कार्यक्रम, २ वटा झोलुंगे पुल क्षेत्रगत कार्यक्रम र २ वटा स्थानीय तहको केन्द्र जोड्ने सडक विकास कार्यक्रम समावेश छन् । विभागबाट योजना तथा बजेट बाँडफाँट हुनासाथ कार्यान्वयनको प्रक्रिया अघि बढ्ने इन्जिनियर साधना तिवारीले बताइन् ।
क्षेत्रीय तथा प्रादेशिक सन्तुलन कायम गर्दै गुणस्तरीय, वातावरणमैत्री र विपद् प्रतिरोधी पूर्वाधार निर्माणलाई कार्यालयले मुख्य प्राथमिकता दिने पन्तले उल्लेख गरे । ‘पूर्वाधार विकास मन्त्रालय अन्तर्गत प्रत्येक प्रदेशमा ७ वटा पूर्वाधार सुपरिवेक्षण तथा अनुगमन कार्यालय र २१ वटा पूर्वाधार विकास डिभिजन स्थापना गर्ने निर्णय कार्यान्वयनका क्रममा म्याग्दीमा डिभिजन स्थापना भएको हो,’ पन्तले भने, ‘डिभिजनमार्फत वैकल्पिक राजमार्ग, रणनीतिक कृषि सडक, पर्यटकीय मार्ग, स्थानीय तहका केन्द्र जोड्ने सडक तथा स्थानीय सडक, पुल र झोलुंगे पुल निर्माण एवं स्तरोन्नति गर्ने योजनाहरू सञ्चालन हुनेछन् ।’
नयाँ कार्यालय स्थापना भएसँगै चारवटै जिल्लाका पूर्वाधार विकाससम्बन्धी योजनाको कार्यान्वयन र समन्वयमा सहजता आउने अपेक्षा गरिएको प्रदेशसभा सदस्य जुग्जालीले बताए । ‘यसअघि पोखरामा कार्यालय हुँदा योजना छनोट, कार्यान्वयन, अनुगमन, समन्वय र गुनासो व्यवस्थापनमा समस्या भएको थियो,’ उनले भने, ‘कार्यालय स्थापना गर्न भूमिका खेल्ने म्याग्दीका प्रतिनिधिसभा सदस्यसमेत रहेका विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनलगायत संघीय मन्त्रिपरिषद्लाई जिल्लावासीको तर्फबाट धन्यवाद व्यक्त गर्दछौँ ।’
Advertisement
जिल्ला समन्वय समिति म्याग्दीकी प्रमुख डिलकुमारी खत्रीले पूर्वाधारसँगै कालीगण्डकी बेसिनमा नदी नियन्त्रण र बस्ती संरक्षण आयोजना सञ्चालन गर्न म्याग्दीमै संघीय सरकारको जलस्रोत तथा सिँचाइ व्यवस्थापन र खानेपानी तथा ढल व्यवस्थापन कार्यालयसमेत स्थापनाको तयारी भइरहेको जानकारी दिइन् । यस्तै, प्रमुख जिल्ला अधिकारी गणेश गैरेले जनअपेक्षाअनुसार गुणस्तरीय र निर्धारित समयमै योजनाहरूको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिए ।
उद्घाटन कार्यक्रममा बेनी नगरपालिका प्रमुख सुरत केसी, जिल्लास्थित राजनीतिक दलका प्रमुख एवं प्रतिनिधिहरू, सुरक्षा निकायका प्रमुखलगायत सरोकारवालाको उपस्थिति थियो । रासस












