---Advertisement---

विदेशबाट फर्किएर गाउँमै किवी खेतीमा रमाउँदै मातृका

On: November 14, 2026 5:06 PM
Follow Us:

गाउँबाट बसाइँसराइ बढ्दै जाँदा बस्तीहरू सुनसान बन्दै गएका छन् । छिमेकीहरू गाउँ छाडेर सहर पसिरहेका बेला बागलुङको जैमिनी नगरपालिका–२ दमेकका मातृकाप्रसाद शर्मा भने गाउँमै सम्भावना खोज्दै कृषि उद्यममा जुट्नुभएको छ ।

दुई वर्ष साउदी अरबमा बिताउनुभएका शर्माले विदेशको अनुभवपछि गाउँ फर्किएर खाली जग्गामा किवी खेती सुरु गर्नुभएको हो । सुरुमा सामूहिक रूपमा अलैँची खेती गर्नुभएका उहाँले स्थानीय हावापानी अनुकूल नभएपछि किवी खेती रोज्नुभएको थियो ।

‘गाउँघरमै धेरै सम्भावना छ । म पनि दुई वर्ष विदेशमा गएर दुःख गरेँ,’ उहाँले भन्नुभयो, ‘अहिले गाउँमै फर्किएर केही गरौँ भनेर लागेको छु । सुरुमा अलैँची खेती गर्ने योजना बनाएका थियौँ, तर यहाँको हावापानीसँग मेल खान सकेन ।’

अहिले शर्माको अधिकांश समय किवी खेतीको रेखदेखमै बित्ने गरेको छ । दमेक गाउँको बीच भागमा रहेको उहाँको फार्ममा किवी लटरम्म फलेका छन् । सुरुमा पाँच रोपनी जग्गाबाट खेती सुरु गर्नुभएका उहाँले अहिले विस्तार गरेर २५ रोपनीमा पुर्‍याउनुभएको छ ।

‘किवी खेती राम्रो हुँदै गएको छ । बजारमा उचित मूल्य पाउन सकियो भने यसबाट परिवार चलाउन समस्या हुँदैन,’ उहाँले भन्नुभयो ।

शर्माले सुरुमा किवीका बिरुवा, टनेल र फलामका पोल खरिद गर्न पाँच लाख रुपैयाँ लगानी गर्नुभएको थियो । व्यवसाय विस्तार गर्दै जाँदा उहाँको कुल लगानी अहिले करिब २० लाख रुपैयाँ पुगेको छ ।

गत वर्ष चार लाख रुपैयाँ बराबरको किवी बिक्री गर्नुभएका उहाँले यस वर्ष उत्पादन राम्रो भएकाले आम्दानी पनि बढ्ने अपेक्षा गर्नुभएको छ ।

किवी खेती विस्तारका लागि गण्डकी प्रदेश सरकारले उहाँलाई १० लाख रुपैयाँ अनुदानसमेत उपलब्ध गराएको छ । उत्पादन राम्रो भए पनि उचित बजार मूल्य नपाउँदा भने उहाँ सन्तुष्ट हुनुहुन्न । अहिले उहाँ प्रतिकिलो दुई सय रुपैयाँका दरले किवी बिक्री गर्न बाध्य हुनुहुन्छ । जबकि बजारमा किवीको खुद्रा मूल्य प्रतिकिलो चारदेखि पाँच सय रुपैयाँसम्म पर्ने गरेको छ ।

शर्माले किवी खेतीसँगै पछिल्लो समय गाउँकै केही जग्गामा सुन्तला खेतीसमेत सुरु गर्नुभएको छ । युवाहरूले गाउँमै लगानी गरेर कृषि तथा अन्य उद्यम गर्न सके विदेशमा हुने कमाइ स्वदेशमै गर्न सकिने उहाँको विश्वास छ ।

गाउँबाट युवा पलायन भइरहेका बेला शर्माको कृषि उद्यमले भने स्वदेशमै सम्भावना खोज्नेहरूका लागि उदाहरण प्रस्तुत गरेको छ ।

डम्मर बुढामगर 

Leave a Comment