तराई-मधेससहित देशभर श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदैछ । चार दिनसम्म मनाइने सूर्य उपासनाको यो पर्व कार्तिक शुक्ल चतुर्थीदेखि सुरु भएको हो ।
छठको मुख्य दिन षष्ठी तिथिमा व्रतालुहरू दिनभर निराहार व्रत बसेर साँझ नदी, पोखरी तथा जलाशयमा पुगेर अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य दिने परम्परा छ । रातभर जाग्राम बसेपछि भोलि बिहान सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै पर्व सम्पन्न हुन्छ ।
पौराणिक मान्यताअनुसार महाभारतकालमा द्रौपदीसहित पाँच पाण्डवले अज्ञातवास सफलताको कामना गर्दै सूर्यदेवको आराधना गरेका थिए । सूर्य पुराणमा अत्रिमुनिकी पत्नी अनुसूयाले सर्वप्रथम छठ व्रत गरेको उल्लेख छ । छठ पर्वमा व्रत बसे सुख, शान्ति, समृद्धि र सन्तानको कल्याण हुने जनविश्वास रहिआएको छ ।
विसं २०४६ अघिसम्म तराईका सीमित क्षेत्रमा मनाइने छठले पछिल्लो समय राष्ट्रिय पर्वको स्वरूप ग्रहण गरेको छ । यस अवसरमा काठमाडौं उपत्यकाका गुह्येश्वरी-गौरीघाट, गहनापोखरी, नागपोखरी, कमलपोखरी तथा वागमती, नख्खु र विष्णुमती नदी किनारमा छठ पूजाका लागि सजावट गरिएको छ ।
छठको पहिलो दिन नुहाएर चोखो भोजन गर्ने, दोस्रो दिन खरना गरी प्रसाद ग्रहण गर्ने र षष्ठीका दिन निराहार व्रत बसेर अस्ताउँदो सूर्यलाई अर्घ्य दिने विधि छ । भोलि (सोमबार) बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि चारदिने छठ पर्व विधिवत् समापन हुनेछ ।















