हरिकृष्ण गौतम
म्याग्दीको बेनी नगरपालिका–६ डम्बरामा मोटरसाइकल र स्कुटर एकआपसमा ठोक्किँदा तीन जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार शनिबार साँझ करिब ५ः४० बजे बेनी–दरबाङ सडकखण्डमा बेनीबाट सिंगातातोपानीतर्फ जाँदै गरेको ग १० प ४९९३ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको गण्डकी प्रदेश ०२००१ प ०५२७ नम्बरको स्कुटर एकआपसमा ठोकिएका हुन्।
दुर्घटनामा मोटरसाइकल चालक बेनी नगरपालिका–५ पुलाचौरका १८ वर्षीय अक्टु दर्जी घाइते भएका छन्। उनको बायाँ हात र घुँडामा चोट लागेको सूचना अधिकारी सागर तिमिल्सिनाले बताउनुभयो । प्रहरी निरीक्षक समेत रहनुभएका तिमिल्सिनाले बेनीअनलाइनलाई दिएको जानकारी अनुसारस्कुटर चालक बेनी नगरपालिका–४ घर भई हाल बागलुङ बजार बस्ने ३९ वर्षीय खेम केसीको चिउँडो र दुवै खुट्टामा चोट लागेको छ। स्कुटरको पछाडि सवार उनकी १४ वर्षीया छोरी प्रिन्सेस केसीको दायाँ हातमा भित्री चोट लागेको छ ।
घाइते तीनै जनालाई उपचारका लागि प्रदेश अस्पताल बेनी पठाइएको थियो। प्रहरीका अनुसार मोटरसाइकल चालक र स्कुटरमा पछाडि सवार बालिकाको अवस्था सामान्य छ भने स्कुटर चालक केसीको अवस्था मध्यम रहेको छ।दुर्घटनापछि दुवै सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।











