हरिकृष्ण गौतम
म्याग्दीको मंगला गाउँपालिका–१ कुहुँमा रहेको दिपशिखा माध्यमिक विद्यालयको “म्याग्दी मालिका टोड्के, शैक्षिक एवं धार्मिक महोत्सव, श्रीमद्भागवत धन धान्याञ्चल सप्ताह ज्ञान महायज्ञ”मा शनिबार सम्म करिब एक करोड आर्थिक संकलन भएको छ।

बिहिबार कलशयात्रासम्म ४० लाख संकलन भएको महायज्ञको शुक्रबार र शनिबार दुई दिनमा थप ६० लाख दान प्राप्त भएको प्रअ.डा.नन्दबहादुर खत्रीले जानकारी दिनुभयो । महायज्ञमा हालसम्म सबैभन्दा धेरै मुक्ति रोका परिवारबाट १५ लाख ५ हजार ५५५ विद्यालयका पूर्व प्रअ भद्र बहादु क्षत्रीबाट ५ लाख ५ हजार ५५५ रुपैयाँ र जमुना पुन ५ लाख रहेको छ ।

आगामी मंसिर ३ गतेसम्म कुहुँ स्थित विद्यालय परिसरमा सञ्चालन हुने शैक्षिक अभियानका लागि घरदैलो,मेलापातमा रहेका अभिभावक तथा चन्दादाता भेटघाटका साथै स्वदेश तथा विदेशमा रहेका दाताबाट समेत आर्थिक सहयोग आउने क्रम जारी रहेको प्रअ खत्रीको भनाई छ । महायज्ञमा रु १ सयदेखि माथिको आर्थिक प्राप्त भइरहेको छ । खेतिपातीको समयमा समेत स्थानीय तथा छिमेकी गाउँहरुबाट उत्साहजनक सहभागिता रहेको छ।

विपन्न, भौगोलिक रुपमा विकट र अपायक पर्ने ठाउँका साथै कमजोर विद्यार्थीहरुलाई आवासीय सुविधा दिएर अतिरिक्त कक्षा सञ्चालन गरि सिकाई उपलब्धी वृद्धि गर्ने उद्देश्य राखेर महायज्ञ आयोजना गरिएको थियो ।पण्डीत दीनबन्धु पोखरेलले कथाबाचन गर्नुहुने महायज्ञबाट तीन करोड जुटाउने र दुई करोडभन्दा बढी बचत गर्ने लक्ष्य राखिएको छ । भागवत पाठ–पारायण, पुजाआजा, भजनकिर्तन, कशलयात्रा, आरती, झाकी प्रर्दशनि भइरहेको छ ।

प्रबिधीको प्रयोग र शैक्षिक गुणस्तर बृद्धि गरेर अध्ययनका लागि बालबालिकालाई सहर बजार लैजाने समस्या न्युनीकरण गर्ने पनि उद्देश्य रहेकोमा महायज्ञ अवधिमा लक्ष्य अनुसार सहयोग प्राप्त हुने छ । कक्षा १ देखि १२ सम्मको पठनपाठन हुने विद्यालयमा हाल एक सय ९६ जना विद्यार्थी छन् । वि.स. २०१७ मा स्थापना भएको विद्यालयले वि.स. २०४७ देखि माध्यमिक र वि.स. २०६५ देखि दश जोड दुई तहको पठनपाठन सञ्चालन गर्दै आएको छ ।














