म्याग्दीको सदरमुकाम बेनीमा सुविधासम्पन्न भलिबल कभर्डहल जग्गा खरिदका लागि म्याग्दी प्रवासी नेपाली संघ मोना अन्तराष्ट्रियका उपाध्यक्ष किसान जिसीले १ लाख सहयोग गर्नुभएको छ । बेनी नगरपालिका–६,का जिसीले भलिबलको प्रशिक्षण तथा खेल कर्भड हलमा सञ्चालन गर्ने उद्देश्यले म्याग्दी जिल्ला भलिबल संघ म्याग्दीको जग्गा खरिद र कभर्डहल निर्माणका लागि सञ्चालन गरेको अभियानमा उक्त सहयोग गर्नुभएको हो ।
यूकेको साउथ वेस्टमा बसोबास गर्ने नेपालीको साझा संस्था साउथ वेस्ट नेपाली समाज यूकेको अध्यक्ष समेत रहनुभएका जिसीले भलिबल क्षेत्रमा जिल्लाको पहिचान बनाउने खेलाडीको उत्पादन गरेकाले आगामी दिनमा पनि भलिबलका खेलाडीलाई सहज तथा भलिबलमार्फत जिल्लाको खेल पर्यटनमा सघाउन कभर्डहलको आवश्यकता रहेकाले सहयोग गरेको बताउनुभयो ।

प्रवासमा रहेका म्याग्देली आवद्ध संघसंस्थाका साथै विभिन्न नेपाली संस्थालाई समेत सुविधासम्पन्न कर्भड हल बनाउन सघाउन समेत अनुरोध गर्नुभएको छ । सोही अवसरमा भलिबल कभर्डहल जग्गा खरिद अभियान संयोजक एवम् जिल्ला भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाँले स्वदेश तथा विदेशमा रहेका म्याग्देलीले अभियानमा सघाएको बताउनुभयो । बेनी नगरपालिका–७ बौद्ध विहार नजिकै दुई रोपनी ८ आना क्षेत्रफलमा फैलिएको जग्गा एक करोड ४२ लाख ५० हजारमाजग्गा खरिद गर्ने योजना रहेको छ । पहिलो चरणमा जग्गा खरिद गरेपछि दोस्रो चरणमा कभर्डहल निर्माण सुरु गरिनेछ ।













