Site icon BeniOnline.com.np जिल्लाका ताजा अनलाइन समाचार

जीवन र प्रेम त चिठीजस्तो पो हुनुपर्छ !

घायलश्री /‘जित्नेहरू कुनै फरक काम गर्दैनन्, उनीहरू जुनुकै काम पनि फरक ढङ्गले गर्दछन् ।’ दार्शनिक खेडाको यो भनाइ जस्तै हरेक सफल मान्छेहरु आफैमा कुनैपनि फरक काम गर्दैनन्, गर्छन् त जुनसुकै कामहरु फरक तरिकाले । फरक काम गर्नु भनेको अरुभन्दा आफू बिलकुलै फरक देखिनु पनि हो । कोही ब्यक्ति यही कुरालाई मनन् गर्छन् र अरुभन्दा फरक बन्छन्, अरुको नजरमा उदाहरणीय बन्छन् ।

कोही अरुले गरेको काम दुरुस्तै आफ्नो जीवनमा अनि आफ्ना कामहरुमा उतार्ने प्रयास गर्छन् र नक्कल गरेको आरोप खेप्छन् । दार्शनिक खेडाको यही भनाइलाई आत्मसात गर्दै काम सानो नै किन नहोस् तर फरकपनमा विस्वास राख्ने ब्यक्ति हुन् प्राध्यापक तथा नेपाल पत्रकार महासंघ म्याग्दीका वर्तमान अध्यक्ष तारानाथ शर्मा । सधैं ज्ञानलाई शक्ति मान्ने गरेका उनी म्याग्दीको पत्रकारिताको इतिहासमा एक कल्पवृक्ष हुन् ।

वि. सं. २०२७ साल माघ १८ गते बागलुङ नगरपालिका–३, शेरामा जन्मिएका तारानाथ शर्मा एक वौद्धिक प्राध्यापक हुन्् । मध्यम तथा किसान परिवारका बाबु कृष्णलाल उपाध्याय र आमा कृष्णकुमारी उपाध्यायका सातौं सन्तानको रुपमा जन्मिएका उनले अङ्ग्रेजी साहित्यको अध्ययन गरेका छन्् । घरमा उनका दाजुहरु अध्यापन तथा पत्रकारितासँग नजिक भएका कारण पनि उनलाई अन्य पेसा भन्दा प्राध्यापन तथा पत्रकारिता मै रुचि जाग्यो । आफू नै त्यो परिवर्तन बन जुन तिमी अरुमा देख्छौ । अन्ततः उनी त्यही बने, त्यही पेसा बनाए ।

घरैको धुलेपाटीमा बाँसको चोयाले कोरेर प्रारम्भिक शिक्षा लिएका उनले उमेरको ६ वर्षमा भोटो लगाएर धवलागिरी मा.वि. बागलुङमा कक्षा एकमा भर्ना हुँदा उनका जेठा दाज्यूले एसएलसी को तयारी गर्दै थिए । त्यतिबेला अहिलेको जस्तो जुत्ता चप्पलको सुविधा थिएन । खाली खुट्टा नै स्कुल आउ÷जाउ गर्नुपथ्र्यो । प्रारम्भिक दिनहरुमा दिनहुँजसो स्कुलमा बन्द हडताल हुने गथ्र्यो, नारा जुलुस निस्कन्थे ।

उनको कलिलो मस्तिष्क त्यतिबेलाको बन्द, हडतालप्रति विष्मयी थियो । राजनीतिका मुर्दावाद र जिन्दावादका नाराहरुले वाल्यकालको आफ्नै मस्तिष्कलाई अनेकन प्रश्नहरुको भारी बोकाए, त्यसैलेत अहिले उनी जुलुसहरुमा देखिदैनन् तर जुलुसहरुको समीक्षा गर्छन् । त्यस समय पाकिस्तानका राष्ट्रपतिलाई फाँसी दिइएको थियो र त्यसको प्रभाव नेपालमा पनि परेको थियो साथै २०३६ को विद्यार्थी आन्दोलनल र त्यसले पञ्चायती ब्यवस्थालाई निर्वाचनमा जान बाध्य बनाएको थियो ।

लगत्तै बहुदल स्थापनाका लागि जनताहरु सडकमा ओर्लिएका थिए । मूलपानी निमाविमा ६ कक्षामा भर्ना हुन पुगेका उनले पढ्दैगर्दा मा.वि.भएको तर एसएलसी को मान्यता प्राप्त नभएका कारण भिमसेन मा.वि. बिहुँबाट एसएलसी पास गरे भने २०४५ मा धवलागिरी क्याम्पस (तत्कालिन् महेन्द्र वहुमुखी क्याम्पस) बागलुङमा पढ्दैगर्दा पञ्चायती ब्यवस्थाको विरुद्धको आन्दोलनको साक्षि र सहभागी पनि भए । उनी प्रविणता प्रमाणपत्र तहको पहिलो अङ्ग्रेजी ब्याज थिए । बाग्लुङको पढाई पनि त्यति सहज थिएन । अहिले जसरी भने जस्तो कितावहरु सजिलै पाईदैनथे ।

गोरखपुर जानेहरुसँग किताव मगाउँनु पथ्र्यो । तिमी त्यो काम रोज जुन तिमीलाई हृदयदेखि नै मन पर्दछ भन्ने उक्तिलाई आत्मसात गर्दै धवलागिरी क्याम्पसमा आई.ए. पढ्दैगर्दा महेन्द्र मा.वि. नरेठाटीमा कक्षा ९ लाई अङ्ग्रेजी पढाउन शुरु गरे । पढाउदै गर्दा त्यतिबेलै उनलाई लागेको थियो कि ‘खराव शिक्षाले उत्तर रटाउँछ भने असल शिक्षाले प्रश्न गर्न सिकाउँछ ।’ अहिलेसम्म पनि उनी यसैलाई शिरोपर गर्छन् । यावत रुपले २०५२ सालमा शिक्षक सेवा आयोग लडेका शर्माले समयमा अन्तरवार्ता नहुँदा स्थाई हुने अवसर गुम्यो । केही समय जन जागृति बोर्डिङमा पढाए ।

उनको परिवारलाई शिक्षित परिवारको रुपमा गनिन्थ्यो । राजनीतिक आस्थाकै कारण केही शिक्षकहरु जिल्ला शिक्षा कार्यालयमा गएर हाजिर गर्ने तर पढाउन नजाने गरेका कारण तत्कालिन गाविस अध्यक्ष रामजी प्रसाद शर्माको अनुरोधमा मालिका मा.वि. बागलुङको स्कुलमा गएर समेत अध्यापन गराएको अनुभव छ उनीसँग । सामाजिक बिकृति र विसङ्गतिहरुलार्ई नजिकबाट नियालेका छन् । उनलाई लाग्छ– ‘हामी न खराब छौँ, न त असल नै । असल अथवा खराब त हाम्रो सोचाइको उपज हो ।’ धेरै सुन, थोरै बोल भन्ने मान्यता राख्ने उनी स्नातकोत्तरको लागि काठमाडौं छिरेपछि स्थानीय बोर्डिङहरुमा आवद्ध भए, ट्युसन सेन्टरमा पढाएर खर्चको ब्यवस्थापन आफैं गरे ।

भरखरै स्नातकोत्तर प्राप्त गरेका उनलाई त्यतिबेलाका म्याग्दी बहुमुखी क्याम्पस प्रमुख स्व. सोमबहादुर बोगटी ज्युको अनुरोध र वर्तमान क्याम्पस प्रमुख टिकाराम सापकोटा, रामजी सुवेदी ज्युको उपस्थितिमा म्याग्दी क्याम्पसमा प्राध्यापनको लागि २०५९ साल मङ्सीर १ गतेदेखि लागु हुने गरेर नियुक्ति पत्र दिइयो । मङ्सीर ८ गतेदेखि म्याग्दी बहुमुखी क्याम्पसमा अध्यापन शुरु गरेका उनी अहिलेसम्मपनि सोही क्याम्पसमा आवद्ध छन् । पत्रकारितामा झुकाव भएका उनी आफ्ना विद्यार्थीहरु दिपक श्रेष्ठ, शिव बानियाँ लगायत विच पत्रिका प्रकाशन सम्वन्धि कुरा भएको थियो तर कामले गति लिन सकिरहेको थिएन ।

त्यसैविच बि.ए. तेस्रो वर्षका विद्यार्थीहरुले फंसनल कार्यमूलक पत्रमा १०० नम्बरको अखबारी पत्रिका र साहित्यिक पत्रिका प्रकाशन गर्नैपर्ने प्रावधान थियो । प्रशिक्षार्थी पत्रकारहरुले बागलुङबाट प्रकाशित ‘पत्रिकाहरुको सहयोग लिनुपथ्र्यो । त्यसैसमय आफ्ना विद्यार्थी सुरत केसीले ‘रुप्से’ पत्रिकाको डमी निकालेको र पछि त्यही पत्रिकालाई साप्ताहिक पत्रिकाको रुपमा प्रकाशन गर्ने सहमति भयो । म्याग्दी जस्तो ठाउँमा बसेर पत्रकारिता गर्नु अहिले जस्तो सहज थिएन । समाचार लेख्दा जोखिम मोल्नुपथ्र्यो । त्यतिमात्र नभएर केही स्थानीयहरुबाट पनि नकारात्मक प्रतिक्रिया आइरहन्थ्यो ।

त्यतिबेला जिल्ला बाहिरको मिडियासँग आवद्ध भएका टिकाराम सापकोटा, घनस्याम खड्का, धु्रवसागर शर्मा लगायतका पत्रकारहरु क्रियाशील थिए । समाचार प्रकाशन गरेपछि केहीदिन लुकेर बस्नुपर्ने अवस्था थियो । ‘म्याग्दी सन्देश’का प्रकाशक टिकाराम सापकोटा (जो अहिले प्रवासमा हुनुहुन्छ) लाई समाचार लेखेकै भरमा आफू बस्ने कोठामा आएर कुटपिट गरेका घटनाहरु सुन्नमा आउथ्यो भने अन्य पत्रकारहरुलाई पनि उत्तिकै जोखिम थियो । वर्तमान पीडाहरु भविष्यमा आफ्नै जीवनका अमूल्य सम्पति बन्नेछन् भन्ने बुझेर नै त्यस्तो अवस्थामा पनि बालकृष्ण सुवेदी, सुरत केसीको सहयोगमा २०६१ साल असार १८ गते कानुनी रुपमै ‘रुप्से’ साप्ताहिक पत्रिकाको प्रकाशक÷सम्पादक भएर पत्रकारिता क्षेत्रमा सक्रिय भए ।

अहिले उक्त पत्रिका रुप्से सञ्चार सहकारी मार्फत दैनिकको रुपमा प्रकाशन भैरहेको छ । त्यसपछिका प्रशिक्षार्थी पत्रकारहरु बागलुङ पुग्नुपर्ने अवस्था रोकियो तर पत्रकारहरुलाई केही समस्या पर्दा जिल्ला बाहिरका पत्रकार तथा पत्रकार आवद्ध सङ्घ÷संस्थाहरुले काध थाप्नुपथ्र्यो । यस काममा बागलुङ पत्रकार महासङ्घ, विविसी पत्रकार भागिरथ योगीको विशेष हात रहेको छ ।

२०६१ मै ‘नागरिक समाज’ म्याग्दीको गठन गरि म्याग्देली समाजसेवी तथा पत्रकार सुदर्शनकुमार श्रेष्ठको अध्यक्षतामा संस्थापक महा सचिव भएर काम गरे । जसले जन आन्दोलन तथा अन्य कार्यहरुमा प्रभावकारी भूमिका खेल्यो । प्रेस चौतारीका केन्द्रीय उपाध्यक्ष तथा ‘साँघु’ साप्ताहिकका सम्पादक गोपाल बुढाथोकी कुनै कार्यक्रमको सिलसिलामा म्याग्दी आउँदा बालकृष्ण सुवेदीको साथमा गएर भेट गरेपछि उनैको सहयोग र सुझावमा २०६२ सालमा ‘प्रेस चौतारी’ म्याग्दी शाखा गठन गरि त्यसको अध्यक्ष समेत भए ।

२०६२÷२०६३ सालको जन आन्दोलनमा ‘प्रेस चौतारी’ म्याग्दीको सक्रिय भूमिका समेत रह्यो । २०६३ सालमा स्थापना भएको पत्रकार महासङ्घ म्याग्दी शाखाको सचिव, केन्द्रीय पार्सद हुँदै २०७३ देखि नेपाल पत्रकार महासङ्घ म्याग्दी शाखाको अध्यक्ष रहेका छन् । लडाइमा आकारले होइन क्षमताले महत्व राख्छ भन्ने विचारले पूर्ण उनको लेखन शैली अरुकोभन्दा भिन्न छ, सिर्जनात्मक छ ।

आफ्ना हरेक लेखहरुमा विचारलाई विशेष जोड दिन रुचाउने उनी परम्परागत र नयाँ शैलीलाई जोडेर आफ्नो छुट्टै शैली बनाउन खप्पिस पनि छन् । उमेरको ३३ वसन्त पार गरिसक्दा पनि विहे गर्ने सुर नगरेपछि गाउँभरि ‘कुमार’ उपनामले परिचित थिए । आफन्तहरुले विहेको प्रस्ताव राख्दा ‘किन विहे गर्ने ?’ भन्ने उनको प्रस्नको उत्तर कसैसँग पनि थिएन । ‘तैले विहे गरे मैले मुक्ति पाउँछु’ भन्ने घरमा आमाको दिनहुँ पिरलो, पारिवारिक दवावकाविच जेठो दाज्यू गोविन्दसँग चितवन घुम्न जाने क्रममा शिवनगरमा पहिलोपटक घरकी जेठी छोरी गङ्गादेवीलाई हेर्न गए ।

एसएमएस जस्तो स्वाट्ट आउने र फ्याट्ट जाने जस्तो जिन्दगीका सस्ता क्षणहरुले उनको जीवनमा कहिल्यै अर्थ राखेनन्, न उनले ती क्षणहरुलाई आफ्नो जीवनमा प्रवेश गर्न नै दिए । उनलाई लाग्छ जीवन र प्रेम त चिठीजस्तो पो हुनुपर्छ । ढिला आवोस र त्यसलाई पढिरहुँ लागोस्, सुनिरहुँ लागोस् । गङ्गाका विचारसँग प्रभावित भएर पर्सीपल्ट अर्थात् २०६२ साल फाल्गुण ११ गते विवाह गरेको दिनदेखि विवाहितको रुपमा परिचित भए । ‘निर्भिक व्यक्तिले ख्यातिको शिखर एकै पलमा चुम्छ’ भन्ने कुरा उनको विवाहमा लागु भएको देखिन्छ ।

विहेको लागि जसलाई पहिलोपटक हेरे, उनैलाई जीवन साथी बनाएका उनले समाज, संस्कार, विवाह जस्ता कुराहरुलाई ब्यक्तिगत भन्दापनि समाजिक र पारिवारिक कर्तव्यसँग जोडेर हेर्ने गर्दछन् । २०६२ साल कार्तिक १७ गते छोरा संयक र २०६३ चैत्र २३ गते छोरी संहितालाई जन्म दिएका उनी पास्चात्य साहित्य र संस्कृतिको अध्ययन गरेपनि पूर्विय साहित्य र संस्कृतिबाट बढी प्रभावित देखन्छन् । अरुले आफ्ना बारेमा के बोल्छन्, के सोच्छन् ! उनलाई त्यसले कुनै प्रभाव पार्दैन । बरु आफूले आफ्नै बारेमा के सोचिन्छ भन्ने कुराको सधैं हेक्का राख्ने उनी वर्तमानमा रमाउछन् । वर्तमानले भविष्य बताउँछ भन्दै वर्तमानलाई सदुपयोग गर्न सवैलाई प्रेरित गर्दछन् ।

उनी भन्छन्– ‘सफलता प्राप्त गर्नु भनेको आफैंलाई खुशी राख्ने र अरुको विश्वास आर्जन गर्ने विज्ञान पनि हो । संघर्ष गर्नु भन्दा पहिल्यै सुख खोजेमा जिन्दगी नै असफल हुन्छ ।’ फेरि थप्छन्– ‘सफलता हासिल गर्नुभन्दा त्यसलाई निरन्तरता दिनसक्नु चुनौतिपूर्ण रहन्छ ।’ उनी अध्यात्मवादमा विस्वास गर्छन् । सर्टिफिकेटले भन्दापनि चिन्तनले रविन्द्रनाथ टैगोरले गीताञ्जली लेख्न सकेको विचार ब्यक्त गर्दै सवैलाई चिन्तनशील बन्न आग्रह गर्दछन् । पछिल्ला दिनहरुमा उनको ज्यादा समय अध्ययन, ध्यान र योगमा वित्ने गर्दछ ।

जीवन विज्ञान केन्द्र काठमाडौंबाट दिइने एघार दिने योग प्रशिक्षणमा समेत सहभागी भएका उनी आफू जन्मेको यस समयलाई महत्वपूर्ण समय ठान्छन् र भन्छन्– ‘भोटो लगाएर खाली खुट्टा स्कुल जाने पनि हामी नै हौं र चिल्ला जुत्ता टल्काउदै बच्चा स्कुल पठाउने पनि हामी नै हौं । त्यतिमात्र होइन, टिभीको रिमोट राम्रोसँग थिच्न नजान्ने पुस्ताको भोगाइ र जन्मिदै टिभी, मोवाइल खेलाउन पाउने पुस्ताहरु विचको सेतु बनेका छौं हामी । हामीसँग तीन पुस्ताका फरक फरक अनुभव र अनुभूतिहरुको मिश्रण रहेको छ ।’

उनको शालिनता र बौद्धिकता कदर गर्न लायक देखिन्छन् । उनले देखाएका मार्गहरु शुरुमा अफ्ठ्यारा लाग्छन्, घुमाउरा लाग्छन् तर अन्त्यमा स्वच्छन्द लाग्छन् तिनै मार्गहरु । रित्ता भाँडाहरुले चर्को आवाज निकालिरहेको यस समयमा उनको मौनता अर्थपूर्ण छन्, विचारशील छन् ।

दुई प्रस्न
 म्याग्दीको पत्रकार र पत्रकार महासङ्घको वर्तमान समस्याहरु के के हुन् ?
शून्यबाट उठेको पत्रकार महासङ्घ म्याग्दीको सोचे अनुसारको संस्थागत विकास हुन सकिरहेको छैन । एउटा आफ्नै भवनसम्म पनि छैन । यहाँका हरेक पत्रकार र पत्रिकाहरु शून्यबाट उठेको अवस्था छ । पत्रकारहरुको स्थाइ जीविकोपार्जनको स्रोत छैन । विशुद्ध पत्रकारितामा लागेका पत्रकारहरुको सङ्ख्या एकदमै न्युन छ ।
 समाधानका उपायहरु के के हुन सक्छन् ?
न समाज न ब्यक्ति, कुनै पनि समस्याको समाधान एकैपटक सम्भव छैन त्यसैले हामी पत्रकारहरु पनि यो कुरा बुझ्न आवस्यक छ । नारा ठूला दिने तर काम साना गर्नेहरुको भीडमा हामीपनि छौं । पछिल्लो समय पत्रकारहरु पनि आफैं मालिक, आफैं मजदुर बनेको अवस्था छ । आफैं मालिक भएपछि मजदुरका समस्या कसले सुन्ने ?

Exit mobile version