आज साउन महिनाको पहिलो सोमबार । प्रायः महिलाका नाडी काँचका हरिया चुरामा सजिएको देखिन्छ । साउन लागेलगत्तै हिन्दू महिलामा छुट्टै उत्साह र उमङ्ग छाएको छ । रातो, पहेँलो र हरियो चुरापोते तथा कपडा महिलाको रोजाइमा परेको छ ।

पछिल्ला वर्षमा किशोरीमा समेत मेहन्दी र हरियो चुरा लगाउने ‘क्रेज’ बढेको छ । ‘क्रेज’ बढ्नुलाई धार्मिक विश्वास तथा फेसनका रूपमा लिन सकिन्छ । विशेषगरी साउनको सोमबार शिवजीको व्रत र पूजा गर्ने चलन छ । यद्यपि यस महिनाका सबै दिन उत्तिकै महत्वका साथ लिइन्छ ।

क्षीरेश्वरनाथ नगरपालिका महेन्द्रनगरकी सपना गिरीले साउने सङ्क्रान्तिका दिन परम्परादेखि चलिआएको लुतो फाल्ने चलन विस्तारै हराउँदै गएको तर हरियो चुरा तथा मेहन्दी लगाउनेको सङ्ख्याचाहिँ वर्षैपिच्छे बढ्दै गएको छ । कतिपयले हरियो चुरा लगाइसकेपछि फुटाउनु हुँदैन भनेर महिनाभर होसियारी अपनाउने गर्दछन् । साउनमा शृङ्गारका सामान अन्य महिनाको तुलनामा निकै बिक्री हुने व्यापारी बताउँछन् ।

साउनको पहिलो दिनदेखि नै बजारमा रहेका शृङ्गार सामानका पसलमा चुरापोते, हरिया, राता, पहेँला वस्त्र खरिदकर्ताका भीड बढेसँगै व्यापार बढिरहेको व्यापारीको भनाइ छ । महेन्द्रनगरस्थित मीना शृङ्गार पसलकी प्रोप्राइटर मीनादेवी साहले मध्य असारदेखि नै हरियो चुराको बिक्री बढेको बताउनुभयो ।

यस महिनाको सोमबार शिवको मन्दिरमा पूजा गर्न जाने महिलाको घुइँचो हुने गर्छ । विशेषगरी विवाहित महिला यसमा सहभागी हुने र व्रत पनि बस्ने गर्छन् । महिलाले पतिको सुख, शान्ति र दीर्घायुको कामना गर्दै व्रत बस्ने गर्दछन् ।जनकपुर उपमहानगरपालिका भानुचोक बस्दै आएकी तुलसा भट्टराईले पनि साउन महिनाको पहिलो दिनदेखि नै हातमा हरियो चुुरा, मेहेन्दी र रातो कुर्था सलवारमा सजिएर हिँड्ने र सोमबार व्र समेत बस्न थालेको बताउनुभयो ।

उहाँका श्रीमान् वैदेशिक रोजगारको सिलसिलामा साउदी अरेबियामा हुनुहुन्छ । श्रीमान्को दीर्घायुको कामना गर्दै साउने सोमबारमा व्रत बस्नुभएको हो । उहाँले आफ्नी सानी छोरीलाई समेत हातभरि हरियो रङको चुरा र मेहेन्दी लगाइदिनुभएको छ । साउन महिनामा घरायसी महिलादेखि अफिसमा काम गर्ने र ड्युटीमा खटिएका कतिपय महिला ट्राफिक प्रहरीसमेतले हरियो चुरा लगाएको देखिन्छ । हरियो चुरा, पोते लगाउने शास्त्रीय मान्यता नभए पनि यसको चलन बढ्दो छ ।

हातमा हरियो, रातो र पहेँलो चुरा लगाएर शिवजीको पूजा गर्दा खुसी बढ्ने कतिपय महिला बताउँछन् । महिला आफ्नो श्रीमान्को सुस्वास्थ्यका लागि सोमबारको व्रत बस्ने विश्वास गरिन्छ । यो एउटा आस्था पनि हो । सबै हिन्दू नारीको साउन महिना चाड बन्न पुगेको छ ।

कतिपयले यसलाई अनावश्यक तडकभडकका रूपमा पनि मनाउन थालेका छन् । नेपालमा मात्र नभएर विदेशमा पनि यो चलन फस्टाएको देखिन्छ । हिन्दू धर्म संस्कृति मान्ने महिलामा मात्र सीमित मेहन्दी र चुरा हिजोआज सबैजसो महिला र युवतीको रोजाइमा पर्छ ।

“पहिले गाउँघरमा मेहन्दी पाइँदैन थियो । मेहन्दी लगाउने चलन पनि थिएन । महिलाले आँगन र बारी जताततै पाइने तिउरे फूलको पात हत्केलामा दल्थे । हिजोआज तिउरेको ठाउँ मेहन्दीले लिएको छ”, बर्दिवासकी महिला अधिकारकर्मी उर्मिला कार्कीले भन्नुभयो ।

साउनमा हरियो चुरारमेहन्दी लगाउँदा आफ्नो घरमा राम्रो हुने तथा सर्पदंशबाट जोगिइने विश्वास छ । तर पछिल्लो समय धार्मिक आस्थाका आधारमा मात्र नभई देखासिकीका रूपमा पनि चुरा÷मेहन्दी लगाइएको कतिपयको बुझाइ छ ।

के छ पौराणिक मान्यता ?

पौराणिक मान्यताअनुसार साउन महिना शिवको महिनाका रूपमा लिइन्छ । पार्वतीले साउन महिनाभरि निराहार रही कठोर व्रत बसेर ‘भगवान् शिव’लाई प्राप्त गरेको प्राचीन विश्वासका आधारमा महिलाले यसलाई बढी महत्वका रूपमा लिने गर्छन् । साउनमा हरियो पहिरिँदा शिव खुसी हुने धार्मिक विश्वास छ । हरियो रङ प्रकृति, उर्वरता, बहुलता, सौभाग्य र सकारात्मक ऊर्जाको वृद्धिको प्रतीक रहेको पनि कतिपयको बुझाइ छ ।

हरियो उपचारको रङ पनि हो जो मुटसँग जोडिएको हुन्छ । उच्च रक्तचापको समस्याका लागि पनि हरियो राम्रो मानिन्छ । विवाहित जोडीको सुमधुर सम्बन्धमा पनि शयनकक्षको दक्षिण पूर्वी हिस्सामा हरियो रङ लगाएमा दाम्पत्य जीवन सुखी हुन्छ भन्ने वास्तुशास्त्रमा उल्लेख गरिएको छ ।

यसकारण लगाइन्छ हरियो

शास्त्री नवीन प्रियदर्शीका अनुसार हरियो रङ सौभाग्यको प्रतीक हो । साउन महिना हरियालीको महिना पनि हो र यो महिना प्रकृतिसँग आफूलाई जोड्ने महिना पनि हो । यस महिनामा हरियो रङका कपडा लगाएर प्रकृतिसँग नजिकिने गरिएको हो ।

शास्त्रमा प्रकृतिलाई ईश्वरका रूपमा लिइन्छ । हरियो चुरा र साडी लगाएर नारीले प्रकृतिलाई विशेष पूजा गरेमा आफू र पतिको आयुसमेत बढ्ने धार्मिक विश्वास छ । संस्कृतिविद् तथा वरिष्ठ पत्रकार रामभरोस कापडी ‘भ्रमर’का अनुसार हरियोलाई प्रेमको, रातोलाई सौभाग्यको एवं पहेँलोलाई पवित्रताको प्रतीकका रूपमा लिइन्छ । हरियो रङ बुध ग्रहको समेत प्रतीक रहेको बताइन्छ । बुध ग्रह भविष्य तथा व्यापारसँग जोडिने धार्मिक मान्यता छ ।
-रासस

Leave a Reply