म्याग्दीमा फुटबल खेलाडीको उत्पादनका लागि गेट किपर मानिने अन्तरमावि जेसीज कप फुटबल प्रतियोगिताका लागि एभरेष्ट ग्लोबल एजुकेशन भिसा सर्भिसेस बेनीले सन् २०२८ सम्म प्रायोजन गर्ने भएको छ ।

विगत लामो समयदेखि नेपाली विद्यार्थीहरु उच्च शिक्षा प्राप्तिका लागि विदेशमा जाने विद्यार्थीलाई शैक्षिक परामर्शदाताको भूमिकामा रहेको एभरेष्ट ग्लोबलले पाँचबर्षसम्मका लागि ५ लाख सहयोग गर्ने गरी साझेदारी पत्रमा हस्ताक्षर गरेको छ ।

म्याग्दी जेसीजका अध्यक्ष दिनेश बानियाँ र एभरेष्ट ग्लोबलका जगत गैरे बिच हस्ताक्षर भएको पत्र एभरेष्ट ग्लोबलका प्रतिनिधि अबिजित शाहीले हस्तान्तरण गर्नुभएको थियो ।

यो प्रायोजन नवीकरण समेत गरिने जनाइएको छ । प्रायोजनबापत न्यूनतम १ लाख र सहमति अनुसार थप रकम समेत उपलब्ध गराउन सकिने २२ औं जेसीज कपका मुल संयोजक देबेन्द्र घिमिरेले बताउनुभयो ।

एभरेष्ट ग्लोबलका बेनी शाखा प्रमुख सुमन बानियाँले म्याग्दीमा विद्यालयस्तरमा लोकप्रिय जेसीज कपमा लगातार पाँचबर्ष सम्म टाईटल प्रायोजकको साझेदारी घोषणा गर्न पाउँदा खुसी लागेको बताउनुभयो। एभरेष्ट ग्लोबलले म्याग्दीका विपन्न बालबालिकालाई समेत निरन्तर सहयोग गदैं आइरहेको छ । शैक्षिक परामर्शदाताको भूमिका मात्रै नभई सामाजिक एवम् मानवीय सेवा, खेलकुद सहित विविध क्षेत्रमा समेत संस्थालाई जोड्न पाउँदा उत्साहित भएको कार्यकारी प्रमुख याम केसीले बताउनुभयो ।

Leave a Reply