कुनै पनि प्रतियोगिता निरन्तर गर्नु आफैमा पनि कठिन कार्य हो । त्यस माथि पनि जुनियर लेभलको प्रतियोगिता त्यो पनि दुई दशक भन्दा लामे समय सम्म जेसीजले धान्दै आएको छ । सन १९९९ मा म्याग्दी जेसीजको स्थापना भए पछि सन २००० देखि म्याग्दीमा जेसीज कप फुटबल प्रतियोगिताको थालनी भएको थियो ।
विद्यालय स्तरीय प्रतियोगितामा तत्कालिन अवस्थामा बीरेन्द्र शिल्ड हुने गरे पनि अन्य प्रतियोगिता नभएको अवस्थामा जेसीजको अगुवाइमा कक्षा १० सम्म अध्ययन गर्ने विद्यार्थीले सहभागिता जनाउन पाउने फुटबलको शुरुआत गरेर जेसीजे नयाँ कदम चालेको थियो । पहिलो पटक आयोजना भएको प्रतियोगितामा सदरमुकाम बेनी वरपरका ५ टिमको मात्रै सहभागिता रहेको थियो ।
म्याग्दी जेसीजको आयोजनामा हरेक वर्ष नोभेम्बर डिसेम्बरमा हुने जेसीज कप फुटबल प्रतियोगितामा पछिल्लो समय जिल्ला भित्रका करिब २० वटा विद्यालयले सहभागिता जनाउँदै आएका छन् । यही प्रतियोगिताको २२ औं संस्करणको खेलको शुरुआत बेनीमा मंगलबार देखि भएको छ ।
हिमाली जिल्ला म्याग्दीको सदरमुकाम बेनीमा पछिल्लो दुई दशक देखि लगातार जिल्ला स्तरीय अन्तर माध्यमिक विद्यालय स्तरीय फुटबल प्रतियोगिता जारी छ । प्रतियोगिताको २२औं संस्करण सोमबार बेनीमा उद्घाटन गरेर मंगलबार देखि खेल शुरु भएको हो ।
सन २००० देखि निरन्तर रुपमा आयोजना हुँदै आएको जिल्लास्तरीय अन्तरमावि(कक्षा १० सम्म) जेसीज कप फुटबल प्रतियोगिताको सोमबार बेनी नगरपालिकाका प्रमुख सुरत केसीले उद्घाटन गर्नुभयो । म्याग्दी जिल्लामा विद्यालय तहमा निकै लोकप्रिय मानिने जेसीज कप फुटबल प्रतियोगिताको २२औं संस्करणमा जिल्लाका २० विद्यालयले सहभागिता जनाएको म्याग्दी जेसीसका अध्यक्ष दिनेश बानियाँले बताउनुभयो ।
प्रतियोगिताको पहिलो दिनमा भएको पहिलो खेलमा गत वर्षको बिजेता न्यू वेष्ट प्वाइन्ट आवासिय माध्यमिक विद्यालयले बालमन्दिर माध्यमिक विद्यालयलाई ५–१ गोल अन्तरले पराजित गर्दै अघिल्लो चरण्मा प्रवेश गरेको छ । दोश्रो खेलमा माउण्ट एभरेष्ट आवासिय माध्यमिक विद्यालय बेनीले केबी एकेडेमी दरवाङलाई ३–० गोल अन्तरले पराजित गरेको छ ।
लिटिल गार्डेन एकेडेमीले सरस्वती आधारभुत विद्यालयलाई ७–० गोल अन्तरले पराजित गरेको छ । अन्तिम खेलमा भानु माध्यमिक विद्यालयलाई ४–१ गोल अन्तरले पराजित गर्दै जनप्रिय माध्यमिक विद्यालय दरवाङ अघिल्लो चरणमा प्रवेश गरेको प्रतियोगिताका मुल संयोजक देवेन्द्र घिमिरेले जानकारी दिनुभयो ।
सोमबार उद्घाटन भएको प्रतियोगिताका खेलहरु मंगलबार शुरु भएर आउँदो शनिवारसम्म सञ्चालन हुने छ । प्रतियोगितामा सहभागि विद्यालयहरुलाई गत वर्षको बिजेता र उपबिजेतालाई दुई तर्फ राखेर दुई समुहमा बिभाजन गरेर प्रतिस्पर्धा गराइने जेसीसकप फुटबल प्रतियोगिताका संयोजक देवेन्द्र घिमिरेले बताउनुभयो ।
जेसीजकप प्रतियोगितामा विजेता विद्यालयलाई नगद ५२ हजार दुईसय २२ रुपियाँसहित रनिङ शिल्ड, ट्रफी, मेडल, र प्रमाणपत्रले पुरस्कृत गरिनेछ भने उपविजेतालाई नगद ३२ हजार दुईसय ३२ रुपियाँसहित ट्रफी, मेडल र प्रमाणपत्रले पुरस्कृत गरिने छ ।
प्रतियोगितामा सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, स्ट्राईकर, मिडफिल्डर, राईजिङ प्लेयर तथा उत्कृष्ट प्रशिक्षकलाई जनही दुईहजार पाँचसय रुपियाँ नगद सहित अवार्ड प्रदान गरिने छ । प्रतियोगितामा अनुशासित टिमलाई ट्रफी, प्रमाणपत्र र नगद पाँचहजार रुपियाँ तथा सेमीफाइनमा पुग्ने २ वटा टिमलाई नगद पाँचहजार रुपियाँ पुरस्कारको व्यवस्था गरिएको छ ।
जेसीज सचिवालयमा एक कार्यक्रमको आयोजना गरेर सोमबार उद्घाटन गर्दै बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीले हरेक वर्ष आयोजना हुने प्रतियोगिताले विद्यालय तहबाटै फुटबल खेलको विकास र खेलाडी उत्पादनमा सहयोग पुगेको बताउनुभयो । बेनीमा खेलकुद, मेला, महोत्सवलगायत कार्यक्रमहरु सञ्चालन हुने एकमात्र खुल्लामञ्चको स्तरवृद्धि गरेर फुटबलमा ११ जना खेल्न सक्ने मञ्च बनाउन लागिएको उहाँले बताउनुभयो ।
उद्घाटन कार्यक्रममा म्याग्दी जेसीजका संस्थापक अध्यक्ष रमेशकुमार श्रेष्ठ, म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठ, एभरेष्ट ग्लोबल एजुकेसन÷भिसाका बेनी शाखा प्रमुख जगत गैरेलगायतले मन्तव्य राख्नु भएको थियो । ‘खेलकुद विकासमा नवीन सोच, प्रतिभा प्रस्फुटनमा हाम्रो जोड’ भन्ने मूल नारासहित सुरु भएको प्रतियोगिता एभरेष्ट ग्लोबल एजुकेसन÷भिसा सर्भिस बेनीले मुख्य प्रायोजन गरेको छ ।
जेसीजकप फुटबल प्रतियोगितामा रनिङ शिल्डलाई हाल सम्म चार वटा विद्यालयले सँधैका लागि आफ्नो बनाएका छन् । तीन पटक सम्म लगातार प्रतियोगिताको उपाधि हात पारेमा शिल्ड आफ्नो बनाउन पाइन्छ । सोही अनुरुप पहिलो शिल्ड बेनीको प्रकाश माध्यमिक विद्यालयले आफ्नो बनाएको थियो । त्यस्तै दोश्रो शिल्ड बेनी बोर्डीङले आफ्नो बनाउँदा तेश्रो शिल्ड भने माउण्ट एभरेष्ट आवासिय माध्यमिक विद्यालयले पच गरेको थियो ।
चौथो शिल्ड न्यू वेष्ट प्वाइन्ट आवासिय माध्यमिक विद्यालयले आफ्नो बनाएको छ । हाल सञ्चालित प्रतियोगितामा प्रयोग भै रहेको शिल्डका लागि न्यू वेष्ट प्वाइन्ट आवासिय माध्यमिक विद्यालयले दुई पटक र शारदा माध्यमिक विद्यालय छिस्वाङले एक पटक जित हासिल गरेका छन् । शारदा माध्यमिक विद्यालय सदरमुकाम भन्दा बाहिरबाट जित हासिल गर्ने एक मात्रै विद्यालय हो ।