पर्वतको जलजला गाउँपालिकामा न्यायिक समितिबाट हुने सेवालाई प्रभाबकारी बनाउन विभिन्न सामुदायिक संस्थामा आबद्ध नागरिकहरूलाई कानुनी सचेतना कार्यक्रम सञ्चालन गरिएको छ । गाउँपालिकाको न्यायिक समितिको आयोजनामा शुक्रवार गाउँपालिका सभाहलमा आयोजित कार्यक्रममा क्रियाशील आमा समूह, महिला समूह, युवा क्लब, बाल क्लब, टोल विकास संस्था लगायत सामाजिक संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा सहभागीहरूलाई अदालतबाट टुंगो लगाइने मुद्धा, देवानी र फौजदारी मुद्धाका साथै स्थानीय तहमा न्यायिक समितिको भूमिका, मेलमिलाप प्रक्रिया, घरेलु हिंसा, महिला तथा बालअधिकार, सामाजिक विकृति तथा कानुनी उपचारका विषयमा जानकारी प्रदान गरिएको थियो। साथै समुदायस्तरमा देखिने विभिन्न विवाद तथा समस्याहरूलाई कानुनी प्रक्रियामार्फत समाधान गर्ने उपायबारे समेत छलफल गरिएको थियो।
कार्यक्रममा सहजीकरण गर्दैै गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता चिरञ्जीवी शर्माले नेपालको संविधानले स्थानीय तहलाई न्यायिक सेवा प्रदानका लागि अधिकार प्रत्यायोजन गरेको बताउँदै न्यायिक सेवा प्रवाहलाई प्रभाबकारी बनाउन गण्डकी प्रदेश सरकारले प्रदेश भरका सबै स्थानीय तहमा न्यायिक सहजकर्ताको व्यवस्था गरेको बताउनुभयो । उहाँले संविधानले दिएको अधिकारलाई भरपुर रुपमा उपयोग गर्न सकेमा स्थानीय स्तरमा हुने झैझगडा, विवाद र लेनदेन लगायतका मुद्धाहरुलाई मेलमिलापको माध्ययमबाट समाधान गर्न सघाउ पुग्ने बताउनुभयो ।

कार्यक्रममा जिल्ला अदालत पर्वतका श्रेस्तेदार ख्यामनारायण लामिछाने र शाखा अधिकृत लितक शर्माले अदालत र न्यायिक समितिको क्षेत्राधिकार, देवानी र फौजदारी मुद्धाका फरक, कानुनी तवरले विवाद निरुपण गर्न स्थानीय संघसंस्था र सरोकारवालाहरुको भूमिकाको बारेमा सहजीकरण गर्नुभएको थियो । गाउँपालिकाका उपाध्यक्ष एवं न्यायिक समितिका संयोजक दिपक आचार्यले न्यायिक समितिमा आउने मुद्धाहरुको प्रकृति हेरर न्यायिक समितिको क्षेत्रभित्र पर्नेहरुलाई मेलमिलापकर्ताहरुको सहजीकरणमा मेलमिलाप गराउँदै आएको जानकारी दिनुभयो ।
उहाँले पालिकाका मेलमिलाप कर्ताहरुलाई हरेक बर्ष क्षमता अभिबृद्धि तालिमहरु सञ्चालन गर्दै आएको जानकारी दिनुभयो । गाउँपालिकाका अध्यक्ष राजु आचार्यले पालिकाको न्यायिक समितिले गरेका कार्यहरु प्रभाबकारी बनेको र आगामी दिनमा छिटो छरिते रुपमा न्यायिक सेवाको कामलाई थप प्रभाबकारी बनाउन पालिकाले पहल गर्ने बताउनुभयो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगराज गौतमले स्वागत गर्नुभएको कार्यक्रममा न्यायिक सहजकर्ता जीवन मल्लले सञ्चालन गर्नुभएको थियो ।















