आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्तीका अवसरमा अनेसास न्युयोर्क च्याप्टरले आयोजना गरेको साहित्यिक कार्यक्रममा कवि तथा गीतकार विकास विष्टको कविता सङ्ग्रह ‘मनमल्लिका’ विमोचन गरिएको छ। कार्यक्रममा विभिन्न स्रष्टाहरूले कविता वाचन गर्नुका साथै भानुभक्तको साहित्यिक योगदानमाथि चर्चा गरेका थिए।
कार्यक्रमका प्रमुख अतिथि माननीय राजदूत दधिराम भण्डारी रहनुभएको थियो। प्रमुख अतिथि भण्डारीले नेपाली साहित्यलाई स्थानीय साहित्यसँग जोड्न सके नेपाली साहित्य अझ फराकिलो हुनेमा आफू बिस्वस्त रहेको बताउनुभयो । अनेसासका नवनिर्वाचित केन्द्रीय अध्यक्ष लालगोपाल सुवेदी विशिष्ट अतिथि तथा अनेसास केन्द्रीय उपाध्यक्ष (उत्तर अमेरिका क्षेत्र) शकुन ज्ञवाली विशेष अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा अनेसास केन्द्रीय सदस्य महेश्वर पन्त तथा शास्त्रीय गायिका एवं अनेसास केन्द्रीय सदस्य हरिमाया अधिकारीको समेत उपस्थिति रहेको थियो।
कार्यक्रममा गीता खत्री, पुनम काफ्ले लगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै साहित्यिक गतिविधिले प्रवासमा नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउने धारणा राख्नुभएको थियो।
‘मनमल्लिका’ विमोचन
कार्यक्रमको प्रमुख आकर्षण कवि तथा गीतकार विकास विष्टको कविता सङ्ग्रह ‘मनमल्लिका’को विमोचन थियो। सङ्ग्रहबारे बोल्दै साहित्यकार रश्मि भट्टले ‘मनमल्लिका’ उत्कृष्ट र पठनयोग्य कृति भएको बताउनुभयो।
कवि विष्टले आफ्नो सिर्जनाको स्रोत जीवनका प्रत्यक्ष अनुभव र अनुभूति भएको बताउनुभयो। आफूले देखेका, सुनेका र भोगेका विषयलाई टिपोट गर्दै शब्दहरूको जोडघटाउ र परिमार्जन गर्दै जाँदा ‘मनमल्लिका’ जन्मिएको उहाँको भनाइ थियो।
कविताले ततायो साहित्यिक माहोल
कार्यक्रममा नाटककार वीरेन्द्र हमाल, कवि लोकनाथ भुसाल ‘घायलश्री’, रविन शर्मा लगायतका स्रष्टाहरूले आफ्ना कविता प्रस्तुत गर्नुभएको थियो। कविहरूको कविता वाचनले कार्यक्रमलाई थप सिर्जनात्मक र साहित्यिक बनाएको थियो।
कार्यक्रममा पासाङ शेर्पा, राजन महर्जन, अनुज थापा, भरत पुरी, डियर कल्याण, रोमन अधिकारी, आनन्द श्रेष्ठ, लक्ष्मी श्रेष्ठ लगायतका कवि तथा गीतकारहरूको पनि सहभागिता रहेको थियो।
भानुभक्तको योगदानको चर्चा:
कार्यक्रममा आदिकवि भानुभक्त आचार्यको नेपाली साहित्यमा रहेको योगदानमाथि समेत चर्चा गरिएको थियो। कवयित्री ज्योति पौडेलले नेपाली साहित्यको विकासमा भानुभक्तको योगदान अतुलनीय रहेको बताउँदै उहाँको साहित्यिक योगदानको निरन्तर स्मरण र सम्मान आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।
भानु जयन्तीलाई साहित्यिक सिर्जना र नेपाली भाषासँग जोड्दै आयोजना गरिएको कार्यक्रमले प्रवासमा नेपाली साहित्यप्रतिको सक्रियता र स्रष्टाहरूबीचको अन्तरसम्बन्धलाई समेत उजागर गरेको थियो।
नेपाली भान्साघर ज्याक्सनहाइटको सभाहलमा शारदा क्षेत्रीको स्वागत तथा नीरु न्यौपानेको सञ्चालनमा सम्पन्न कार्यक्रमको सभापतित्व अनेसास न्युयोर्क च्याप्टरकी अध्यक्ष जानुका ओस्ती ढकालले गर्नुभएको थियो।















