चर्चित गायक प्रकाश दुतराजले जन्म जिल्ला म्याग्दीबाट ‘नयाँ अभ्यास’ सुरु गर्दैछन् । नेपाली संगीत जगतमा आधुनिकता र परम्परागत लोकधुनलाई सुन्दर ढंगले मिसाएर नयाँ स्वाद प्रस्तुत गरिरहेका गायक दुतराजले आफ्नै ‘दुतराज प्रकाश एण्ड नयाँ अभ्यास’ लोक साङ्गीतीक म्युजिक ब्याण्ड सार्वजनिक गर्न लागेका हुन् ।
दुतराजको ब्याण्ड सार्वजनिक गर्नका लागि म्याग्दी उद्योग वाणिज्य संघले भदौ १२ गते म्याग्दीको बेनी बजार स्थित खुल्ला मञ्चमा साँगितीक साँझको आयोजना गरेको छ । प्रवेश निशुल्क रहेको उक्त साङ्गीतीक साँझमा गायक प्रकाश दुतराजको ‘दुतराज प्रकाश एण्ड नयाँ अभ्यास’को प्रस्तुती रहने छ ।
गृह जिल्ला म्याग्दीबाट आफ्नो १४ वर्ष पुरानो साङ्गीतीक सपना पुरा हुन लागेको भन्दै गायक दुतराजले माया र आर्शिवाद दिनका लागि सबैलाई उपस्थित हुन आग्रह गरेका छन् । शनिबार नेपाल पत्रकार महासंघ बागलुङ शाखामा पत्रकार सम्मेलन गर्दै गायक दुतराजले आफ्नै लाइभ म्युजिक ब्याण्ड सहित प्रस्तुती दिने सपना पुरा हुने दिनमा सबैलाई उपस्थित भएर हौसला बढाइ दिनका लागि आग्रह गरेका हुन् ।
दुतराजको म्युजिक ब्याण्डमा देशका विभिन्न जिल्लाका ३५ जना भन्दा बढी कलाकारहरुको आवद्धता रहको बताइएको छ ।
दुतराजका गीतमा गाउँघरको जीवनशैली, प्रेम, बिछोड र सामाजिक भावनाको गहिरो चित्रण पाइन्छ । यही कारण उनका सिर्जनाहरूले युवापुस्तासम्म लोकसंगीतको आकर्षण पु¥याएका छन् ।
उनका ‘घर कता हो बैनीको’, ‘रिमाई’, ‘जुन माया’, ‘देउरालीमा’, ‘मनमाया’ लगायतका गीतहरू चर्चित छन् ।
परम्परागत वाद्ययन्त्र मादल, सारंगी, बासुरीलाई आधुनिक गिटार र ड्रमसँग संयोजन गरेर फ्यूजन शैलीमा प्रस्तुत गर्दै आएका गायक दुतराजले आफ्नो ब्याण्ड मार्फत पनि यही शैलीलाई निरन्तरता दिने बताएका छन् ।















