---Advertisement---

सुन सफा गर्ने बहानामा ठगी, म्याग्दीमा भारतीय गिरोह सक्रिय

On: August 30, 2026 10:20 PM
Follow Us:

म्याग्दीको ग्रामिण क्षेत्रमा सर्वसाधारणलाई ललाईफकाई गरी बिभिन्न प्रलोभनमा पारी सुनका गरगहना ठग्ने भारतीय नागरिक धमाधम पक्राउ पर्न थालेका छन् ।

गतसाता मालिका गाउँपालिका–६, ढाडखर्कमा गरगहना सफा गर्ने भन्दै विभिन्न केमिकल प्रयोग गरी गरगहनाको तौल घटाइ ठगी गरेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दरबाङबाट खटिएको टोलीले भारतको बिहार प्रदेश, खगरिया जिल्लाका विक्रम कुमार, सञ्जीत कुमार, राज कुमार साह र सन्नी कुमार दासलाई पक्राउ परेका थिए ।

जिप्रका म्याग्दीका सूचना अधिकारी सागर तिमिल्सिनाले बेनीअनलाइनलाई दिएको जानकारी अनुसार ग्रामिण क्षेत्रमा भारतीयहरूले सुनको गरगहना खोज्दै हिडेको सूचनाको आधारमा खोजीकार्य तिब्र पारिएको छ ।


आइतबार बेनी नगरपालिका–३,मुसुङकी एक महिलाको घरमा कोही नभएको मौका छोपी गरगहना टल्काउने भन्दै विभिन्न केमिकल प्रयोग गरी गरगहनाको तौल घटाएर ठगी गर्ने भारत बिहार राज्यका पूर्वी चम्पारण जिल्ला–३ गोरासहन बस्ने ४० वर्षीय सोनु साह र ३६ वर्षीय दुर्गा साहलाई स्थानीयको सहयोगमा तातोपानी प्रहरी चौकीबाट खटिएको टोलीले मंगला गाउँपालिका–३ बरंजा दहबाट पक्राउ गरेको जनाइएको छ ।

ठगी मुद्दा चलाइएको उनीहरुलाई म्याग्दी जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ । म्याग्दीमा ग्रामिण क्षेत्रमा महिला, बालबालिकाललाई फकाई बिभिन्न प्रलोभनमा पारेर फुकाल्न लगाई सफा गरिदिने भन्दै अज्ञात रसाईनले धोएर फिर्ता दिने गरेका घटना हरेक बर्ष घट्ने गरेपनि सचेतनाको अभावका कारण ठगि हुने गरेको छ ।

भारतीय गिरोहले समुह बनाएर ग्रामिण क्षेत्रमा पुरुष नभएको मौका छोपी सफा गर्ने बाहनामा ठगि गर्ने,तत्काल सुन हेर्न नहुने भन्दै सुकेपछि मात्र हेर्नू भनेर हिड्ने गरेको पाइएको छ । ठगि गरेर हिँडेको केहीबेरपछि सुकेको सुन खोलेर हेर्दा तौल घटेको देखेपछि प्रहरी गुहार्ने गरिन्छ । पक्राउ पर्नेहरुबाट खानतलासी लिँदा पिताम्बर, सुन सफा गर्ने सामग्री, मट्टितेल, एसिड समेत फेला पर्ने गरेको छ ।

Leave a Comment