---Advertisement---

म्याग्दीले विगतमा ठूलो क्षति भोगिसकेको छ,अब पूर्वतयारीमा ढिलाइ नगरौँ !

On: September 1, 2026 4:49 PM
Follow Us:

करिव चार दशक अगाडी म्याग्दीको मालिका गाउँपालिका–१ निस्कोटस्थित साम्था पहिरोले निस्कोटको पैरेनी र छ्यारछ्यारे बस्ती नै उजाडियो । बि.स २०४५ साल असोज ४ गते राति खसेको पहिरोले म्याग्दी खोला थुनिएर फुट्दा जिल्लाको दोस्रो ब्यापारिक केन्द्रको प्रवेशद्धार छ्यारछ्यारे र निस्कोटको पैरेनीका बस्ती बगाएर नामनिसाना मेटिनुका साथै एक सय १५ जना पुरिएका थिए । पहिरोमा बेपत्ता एक सय १५ जनामध्ये करिब ५–६ जनाको शव मात्रै भेटिएको थियो ।उक्त पहिरोले स्थानीयसँगै प्रहरी चौकी नै बगाएको थियो। म्याग्दीको यो घटना म्याग्दीबासीका लागि एउटा बिर्सन नसकिने पीडा हो ।

निस्कोटको पैरेनी र छ्यारछ्यारे बस्ती


बि.स २०४५ सालमा मुस्ताङको हिमताल फुट्दा कालीगण्डकीमा आएको बाढीले दाना, तातोपानी हुँदै बेनीभन्दा तलसम्मका तटीय क्षेत्र प्रभावित भएको थियो । बि.स २०५५ सालमा गोगनपानीको भीर भत्किँदा कालीगण्डकी करिब १० घण्टा थुनिएको थियो। बि.स२०७२ जेठमा काफलडाँडाको पहिरोले बैसरी बस्ती पुरिएको थियो भने कालीगण्डकी करिब १६ घण्टा थुनेको थियो। त्यसबेला नदी किनारका बस्तीसमेत जोखिममा परेका थिए । रघुगंगा गाउँपालिका–६ मूलपानी र वडा नं. ७ चिमखोलाको गौंडामुनि रायखोरबाट २०७८ भदौमा खसेको पहिरोले राहुघाट नदी थुन्दा करिब ५ मिटर लामो र ५० फिटभन्दा गहिरो ताल बनेको थियो।

बि.स २०७२ जेठमा पहिरोले करिब १६ घण्टा कालीगण्डकी नदी थुनिएपछि बनेको ताल ।

धवलागिरि गाउँपालिका–६,मराङ क्षेत्रमा म्याग्दी नदी थुनिएको घटना पनि छ। धवलागिरि–१,गुर्जाखोलामा गएको पहिरोले खोला करिब आठ घण्टा थुनेको पछिल्लो समयको अर्को उदाहरण हो । म्याग्दीका तीन प्रमुख जलाधारमा विगतमा पहिरो खसेर नदी थुनिएपछि भौतिक तथा मानवीय क्षती भएको थियो । कालीगण्डकी, म्याग्दी र राहुघाट नदी थुनिएको अवस्थामा तत्काल सूचना दिने, हिमाल तथा हिमतालहरूको अवस्था, अति जोखिम पहिरोको निरीक्षणसहित पूर्वतयारीमा भने सरकारी निकायको ध्यान जान सकेको छैन । जिल्ला विपद् ब्यवस्थापन समितिले मनसुनजन्य बाढीपहिरो प्रभावितहरूका बारेमा ध्यान दिने गरेको छ ।

तीनवटै ठूला नदीको शीरमा रहेको सम्भावित जोखिम, हिमताल, हिमपहिरोका कारण हिमनदीबाट हुनसक्ने सम्भावित जोखिमका बारेमा अहिलेसम्म जिल्लामा अध्ययन तथा बहस समेत हुन सकेको छैन । म्याग्दीमा तीनवटै जलाधार क्षेत्रमा अहिले जलविद्युत् आयोजना निर्माण तथा पूर्वाधार विस्तार भइरहेको अवस्थामा पहिरो खस्दा नदी किनारका बस्ती प्रभावित हुनसक्ने अवस्थालाई समेत मध्यनजर गरी ब्यापाक तयारी गर्नुपर्ने देखिन्छ ।


म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यले जिल्ला बिपद् ब्यवस्थापन समितिको बैठकमा जिल्लामा जोखिमयुक्त क्षेत्रमा नियमित पहिरो तथा नदीको निरीक्षण तथा नदीको पानीको सतह मापन, हिमताल र हिमनदीको निगरानीसहित अवस्था, बाढीको पूर्वसुचना दिने प्रणाली लगायका विषयमा छलफल गर्ने बताए । उनले जोखिमको पूर्व सूचनाले मानवीय क्षती टर्ने भएकाले स्थानीय तहसँगको सहकार्यमा समेत थप कार्य गरिने बताए ।

जिल्लामा ४१ वटा नामकरण गरिएका हिमाल तथा हिमचुचुरा छन्। धौलागिरि, अन्नपूर्ण प्रथम,गुर्जा,चुरेन,निलगिरि र मानापाथी लगायतका हिमाली क्षेत्रमा रहेका हिमताल, हिमनदी तथा हिमपहिरोको अवस्थाले पनि नदीको बहाव र तटीय क्षेत्रको जोखिमसँग सम्बन्ध राख्ने भएपनि सरकारी निकाय जिल्लाका जनप्रतिनिधि तथा राजनीतिक दलसहित सरोकारवाला निकायको नजर नपुग्दा भविस्यमा भयानक जोखिमको सामना गर्नुपर्ने अवस्था आउन सक्ने विज्ञहरू बताउँछन् ।

Leave a Comment