---Advertisement---

म्याग्दीमा आफूखुसी राहत सङ्कलनमा कडाइ, नगद सहयोग सिधै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्न अनुरोध

On: September 1, 2026 2:13 PM
Follow Us:

म्याग्दीमा आफूखुसी राहत सहयोग सङ्कलन गर्न कडाइ गरिएको छ । यही भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि सरकारले सार्वजनिक गरेको आधिकारिक खाताबाहेक व्यक्तिगत तथा संस्थागत रूपमा राहत रकम सङ्कलन गर्ने अभियान सञ्चालनमा कडाइ गरिएको हो ।


जिल्ला प्रशासन कार्यालय म्याग्दीमा बसेको सर्वपक्षीय बैठकले सरकारले सार्वजनिक गरेको खाताबाहेक जिल्लामा व्यक्तिगत तथा संस्थागत रूपमा राहत सङ्कलन अभियान सञ्चालन गर्न नदिने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यले बताउनुभयो ।

इच्छुक व्यक्ति वा संस्थाले सोझै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राहत सहयोग जम्मा गर्न सक्ने व्यवस्था रहेको सहायक प्रजिअ आचार्यको भनाई छ । बजारमा ब्यानर लिएर राहत सङ्कलन गर्न हिँड्न पाइने छैन । बाढीपीडितलाई सहयोग गर्न इच्छुक व्यक्ति तथा संस्थालाई सोझै सरकारको खातामा रकम जम्मा गर्न अनुरोध गरिएको छ । बैठकले जिल्ला स्तरमा खाद्यान्नलगायत अन्य सामग्रीसमेत तत्काल सङ्कलन नगर्ने निर्णय गरेको छ ।


यसैगरी म्याग्दीका स्थानीय तह, विभिन्न सङ्घसंस्था तथा सर्वसाधारणले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम जम्मा गर्न थालेका छन् । जिल्लाका रघुगङ्गा, अन्नपूर्ण र धवलागिरि गाउँपालिकाले दुई–दुई लाख रुपियाँका दरले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गरिसकेका छन् भने विभिन्न संघसंस्थाले समेत सहयोग गरिरहेका छन् । म्याग्दीका साथै प्रवासमा रहेका म्याग्देलीले समेत सहयोग गरिरहेका छन् ।

Leave a Comment