---Advertisement---

सयपत्री फूल खेतीबाट भविष्य खोज्दै कमला थापा, वार्षिक चार लाख आम्दानी

On: November 6, 2026 10:25 PM
Follow Us:

बागलुङ नगरपालिका–१ रामरेखा मैनडाँडाकी कमला थापाको दिनचर्या फूलबारीबाट सुरु हुन्छ । घरछेउको खाली जग्गामा हुर्किरहेका बिरुवामा पानी हाल्ने, फूलमा लागेका झारपात उखेल्ने र बोटबिरुवाको स्याहार गर्ने काम उहाँको दैनिकी बनेको छ । तीन वर्षअघि गोलभेँडा, बन्दा र काउली फल्ने बारीमा अहिले सयपत्री फूल ढकमक्क फुलेका छन् ।

तरकारी खेती गर्दा बजारको समस्या झेल्नुपरेपछि थापाले फूल खेती रोज्नुभएको हो । उत्पादन गरेको तरकारी डोकोमा बोकेर बजार पुर्‍याउनुपर्ने, ग्राहकले भनेकै मूल्यमा बिक्री गर्नुपर्ने र उत्पादनदेखि बजारीकरणसम्म समस्या भोग्नुपर्ने अवस्था थियो । यही समस्याबाट मुक्त हुन उहाँले २०८१ सालदेखि व्यावसायिक रूपमा सयपत्री फूल खेती सुरु गर्नुभयो ।

सुरुमा फूल खेतीबाट कस्तो आम्दानी होला भन्ने अन्योल थियो । पाँच हजार रुपैयाँको बीउ किनेर एउटा टनेलबाट सुरु गरेको खेती अहिले विस्तार भएर चारवटा टनेलमा पुगेको छ । बजारको माग बढ्दै गएपछि उहाँले खेतीमा गरेको लगानीसमेत बढाएर करिब तीन लाख रुपैयाँ पुर्‍याउनुभएको छ ।

बागलुङ कालिका मन्दिर नजिकै फूल फर्म रहेकाले मन्दिर दर्शन गर्न आउने भक्तजन उहाँका प्रमुख ग्राहक हुन् । उहाँले मौसमी र बेमौसमी दुवै समयमा फूल उत्पादन गर्दै आउनुभएको छ ।

थापाका अनुसार तिहारमा बजारमा फूलको आपूर्ति बढी हुने भएकाले मूल्य घट्छ । तर बेमौसममा भने फूलको मूल्य राम्रो पाइन्छ । बेमौसममा प्रतिकिलो चार सयदेखि छ सय रुपैयाँसम्ममा फूल बिक्री हुने गरेको उहाँले बताउनुभयो ।

तरकारी खेतीको तुलनामा फूल खेती सहज र कम झन्झटिलो रहेको उहाँको अनुभव छ ।

‘दुःख गरेर तरकारी फलायो, भनेको समयमा बिक्री नहुने । डोकोमा बोकेर बजारबजार पुग्नुपर्ने तर भनेअनुसारको मूल्य नपाउने समस्या थियो,’ उहाँले भन्नुभयो, ‘तरकारी खेती गर्दा धेरै मल र विषादी चाहिन्थ्यो । मेहनत पनि धेरै गर्नुपर्थ्यो । फूल खेतीमा त्यति धेरै दुःख हुँदैन । माग पनि राम्रो छ ।’

यस वर्ष उहाँले २० हजार रुपैयाँको बीउ लगाउनुभएको थियो । एउटै टनेलमा एकै प्रकारका फूल लगाउँदा लामो समयसम्म राम्रो उत्पादन नहुने भएकाले टनेलअनुसार फरकफरक जातका फूल लगाउनुपर्ने उहाँको अनुभव छ ।

बेमौसममा फूलको मागअनुसार आपूर्ति गर्न नसकेको उहाँ बताउनुहुन्छ । हाल फूल बिक्रीबाटै वार्षिक करिब चार लाख रुपैयाँ आम्दानी गर्दै आएको उहाँको भनाइ छ । यसबाट चार सदस्यीय परिवारको आर्थिक अवस्था सहज बनाउन सहयोग पुगेको छ । उहाँका श्रीमान् बागलुङ अदालतमा कार्यरत हुनुहुन्छ ।

फूल खेतीलाई अझ विस्तार गर्ने चाहना भए पनि जग्गाको अभावले समस्या भएको थापा बताउनुहुन्छ । हाल आफ्नै र दाइको जग्गामा सीमित क्षेत्रफलमा खेती गर्दै आउनुभएको छ ।

राज्यले आफूजस्ता कृषि उद्यमीलाई अनुदान, तालिम र आवश्यक सहयोग उपलब्ध गराए थप रोजगारी सिर्जना गर्न सकिने उहाँको विश्वास छ ।

‘अहिले दाइ र मेरो जग्गामा फूल खेती गर्दै आएकी छु । ठाउँ सानो छ, खेती गर्ने चाहना ठूलो छ । जग्गा हुन्थ्यो भने ठूलो क्षेत्रफलमा फूल लगाउन मन थियो,’ उहाँले भन्नुभयो, ‘राज्यले हामीजस्ता उद्यम गर्ने मानिसलाई सहयोग गर्नुपर्ने हो । तर अहिलेसम्म कतैबाट सहयोग पाएकी छैन । सहयोग पाए दुई–चार जनालाई रोजगारीसमेत दिन सक्थेँ ।’

सामान्य लगानीबाट सुरु गरेको फूल खेतीलाई व्यावसायिक रूपमा विस्तार गर्न सफल थापाको अनुभवले स्थानीय स्तरमै कृषि उद्यममार्फत आम्दानी र रोजगारी सिर्जना गर्ने सम्भावना देखाएको छ ।

Leave a Comment