---Advertisement---

दिपशिखा माविको महायज्ञमा साढे दुई करोडभन्दा बढी सहयोग जुट्यो,सहयोग संकलन अभियान जारी

On: November 19, 2026 10:04 PM
Follow Us:

हरिकृष्ण गौतम

म्याग्दीको मंगला गाउँपालिका–१ कुहुँस्थित दिपशिखा माध्यमिक विद्यालयमा आयोजित शैक्षिक एवं धार्मिक महोत्सव तथा श्रीमद्भागवत धनधान्याञ्चल सप्ताह ज्ञान महायज्ञमा साढे दुई करोड रुपैयाँभन्दा बढी सहयोग संकलन भएको छ। विपन्न तथा भौगोलिक रूपमा विकट क्षेत्रका विद्यार्थीलाई आवासीय सुविधासहित अतिरिक्त कक्षा सञ्चालन गरी शैक्षिक गुणस्तर वृद्धि गर्ने उद्देश्यले सात दिनसम्म आयोजना गरिएको महायज्ञमा नगद सहयोग साढे दुई करोड रुपैयाँ नाघेको हो।

विद्यालयका प्रधानाध्यापक डा. नन्दबहादुर खत्रीका अनुसार नगद सहयोगसँगै धान, चामल तथा अन्य जिन्सी सहयोगसमेत संकलन भएको छ। जिन्सी सहयोगको मूल्यांकनसमेत गर्दा महायज्ञबाट निर्धारित लक्ष्य नजिक पुग्ने उहाँले बताउनुभयो।

प्रधानाध्यापक डा. खत्रीले बेनीअनलाइनलाई दिनुभएको जानकारीअनुसार महायज्ञमा प्रत्यक्ष रूपमा, विद्यालयको बैंक खातामा तथा क्यूआर कोडमार्फत सहयोग प्राप्त भएको छ। सबै सहयोगको विवरण संकलन गरी आम्दानी र खर्चको हिसाब सार्वजनिक गरिने उहाँले बताउनुभयो।

‘यस वर्ष प्राकृतिक विपत्तिका कारण पनि धेरै दाताले केही समयपछि सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ। हामी लक्ष्यअनुसारको विद्यालय निर्माण गर्ने अभियानलाई निरन्तरता दिनेछौँ,’ उहाँले भन्नुभयो।

महायज्ञमा सबैभन्दा धेरै सहयोग अष्ट्रेलियामा बस्दै आउनुभएका कुहुँ तुसारेपानीका मुक्तिप्रसाद रोकाले गर्नुभएको छ। उहाँले १६ लाख ६६ हजार ६६६ रुपैयाँ सहयोग गर्नुभएको थियो। पण्डित दीनबन्धु पोखरेलबाट कथावाचन गरिएको महायज्ञमा तीन करोड रुपैयाँ सहयोग संकलन गर्ने र दुई करोड रुपैयाँभन्दा बढी बचत गर्ने लक्ष्य राखिएको थियो।

महायज्ञ अवधिमा भागवत पाठपारायण, पूजाआजा, भजनकीर्तन, कलशयात्रा, आरती तथा झाँकी प्रदर्शनलगायत धार्मिक कार्यक्रम सञ्चालन गरिएका थिए। धार्मिक गतिविधिसँगै विद्यालयको शैक्षिक विकासका लागि सहयोग जुटाउने अभियानमा अभिभावक, पूर्वविद्यार्थी, शिक्षाप्रेमी तथा देशविदेशमा रहेका दाताले उत्साहजनक सहभागिता जनाएका थिए।

ग्रामीण क्षेत्रका विपन्न परिवारका बालबालिका आर्थिक अभावकै कारण प्राविधिक तथा गुणस्तरीय शिक्षाबाट वञ्चित हुन नपरोस् र अध्ययनका लागि सहरबजार जानुपर्ने बाध्यता कम होस् भन्ने उद्देश्यले महायज्ञ आयोजना गरिएको विद्यालयले जनाएको छ। विद्यालयमा प्रविधिको प्रयोग बढाउने, अतिरिक्त कक्षा सञ्चालन गर्ने र आवासीय सुविधासहित पठनपाठनको व्यवस्था गर्ने योजना छ।

महायज्ञमा मंगला गाउँपालिकासहित बेनी नगरपालिका तथा मालिका, धवलागिरि र रघुगंगा गाउँपालिकाका शैक्षिक संस्थाका प्रतिनिधि तथा भक्तजनको उल्लेख्य सहभागिता रहेको थियो। ग्रामीण क्षेत्रमा विद्यालयको शैक्षिक विकासका लागि गरिएको अभियान सकारात्मक सन्देश प्रवाह गर्ने खालको रहेको दाता मुक्तिप्रसाद रोकाले बताउनुभयो।

महायज्ञमा सहयोग गर्ने दातालाई शिलालेखमा नाम उल्लेख गरी सम्मान गर्ने व्यवस्था पनि गरिएको छ। कक्षा १ देखि १२ सम्म पठनपाठन हुने विद्यालयमा हाल १९६ जना विद्यार्थी अध्ययनरत छन्। विसं २०१७ मा स्थापना भएको विद्यालयले २०४७ सालदेखि माध्यमिक तह र २०६५ सालदेखि कक्षा ११ र १२ को पठनपाठन सञ्चालन गर्दै आएको छ।

Leave a Comment