---Advertisement---

बागलुङको जैमिनी सुकुम्बासीमुक्त पालिका घोषित

On: November 19, 2026 8:47 PM
Follow Us:

बागलुङको जैमिनी नगरपालिकालाई देशभरमै अव्यवस्थित तथा सुकुम्बासी समस्या मुक्त पालिका घोषणा गरिएको छ ।नगरपालिकाले गत वर्ष नै १८ सुकुम्बासीलाई जग्गा खरिद गरि घर बनाएर लालपूर्जा दिएको थियो । भूमि समस्या समाधान समितिले सुकुम्बासी तथा अव्यवस्थित बसोबासी मुक्त जैमिनी नगरपालिका घोषणा गरेको हो ।

मंगलबार समितिले सार्वजानिक गरेको सुचनाअनुसार जैमिनी नगरपालिका देशकै पाँच पालिकामा पर्न सफल भएको छ । समितिले जैमिनी नगरपालिकासहित देशभरका पाँच पालिका सुकुम्बासी तथा अव्यवस्थित बसोबासी मुक्त घोषणा गरेको हो ।

जैमिनी नगरपालिकाले १८ परिवारलाई घडेरी खरिदसहित घर बनाउन रु. तीन लाखका दरले उपलब्ध गराएको थियो । १८ सुकुम्बासीले लालपूर्जासहितको घर पाएकाले सुकुम्बासी समस्या नरहेको लेखी पठाएकाले देशभरमै पाँच पालिकामा जैमिनी नगर परेको नगरपालिकाका उपप्रमुख हरिहर शर्माले बताउनुभयो । शर्माले पालिका घोषणाका लागि सुकुम्बासीलाई स्थानीय स्तरमै घडेरी र घर बनाउन रु. ५४ लाख खर्च गरेको जानकारी दिनुभयो ।

समस्या मुक्त हुनेमा देशभरका पालिकाहरु मध्ये बागलुङको जैमिनी नगरपालिका, डोल्पाको काइके गाउँपालिका, सोलुखुम्बुको खुम्बुपासाङल्हामु गाउँपालिका र महाकुलुङ गाउँपालिका तथा रुकुम पूर्वको भूमे गाउँपालिका रहेको भूमि समस्या समाधान समितिले जनाएको छ ।

देशभर भूमिसम्बन्धी समस्या समाधानको कामलाई थप तीव्रता दिएसंगै समस्या मुक्त पालिका घोषणा गर्ने कार्यक्रमलाई अघि सारेको हो । सरकारले नागरिकको वर्षौंदेखिको भूमि समस्या समाधान गरी उनीहरूलाई जग्गाको कानुनी स्वामित्व सुनिश्चित गर्ने लक्ष्यसहित यस कार्यलाई प्राथमिकताका साथ अघि बढाएको छ ।

डम्मर बुढा मगर/ बागलुङ, संवाददाता


Leave a Comment