मुस्ताङमा रहेको चीनसँगको कोरला नाका खुलेपछि उपल्लो मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिका र लोमान्थाङ गाउँपालिकाका स्थानीयवासी दैनिक सामान लिन कोरोला नाका भएर चीनको (नेचुङ–लिजी) बजार जान्छन् ।

सस्तो र नियमित प्रयोग हुने सामान पाइने लिजी बजारसम्म सहज पुग्न नपाएका मु्स्ताङीले आफ्नो निकट मानिएका ब्यापारीबाट बेलाबेलामा सामान ढुवानी गर्ने गरेपनि नाका खुलेपछि दैनिक मुस्ताङीले आवश्यक सामान ल्याउने गरेका छन्।

अहिले परिचयपत्र भएका उपल्लो मुस्ताङका दुई गाउँपालिकाका बासिन्दाले चिनियाँ ब्यापारिक महलबाट दैनिक खाद्यान्न, लत्ताकपडा, कस्मेटिक, विद्युतीय उपकरण र स्थानीयबासीले नियमित उपभोग गर्ने साम्रागीहरू खरिद गर्र्ने गरेको लोमन्थाङ गाउँपालिका–५,का वडा अध्यक्ष डुकके विष्टले बताए ।‘नाका खुलेपछि मुस्ताङी नियमित सामान लिन जान्छन्,‘झान्सामा पाक्नेदेखि लगाउने सामानहरू तिब्वती बजारबाट आउँछ’ अध्यक्ष विष्टले भने ।

उनले खाद्यान्न र लत्ताकपडा बाहेक निर्माण साम्रागी समेत तिब्वती बजारमा सस्तो भएकाले सिमेन्ट, फलाम सहित हेभी मेसिनहरू समेत विस्तारै आयात हुने बताए । खाद्यान्न अन्तरगत तिब्वतबाट चामल भने निकै कम आउने गरेको वडा अध्यक्ष बिष्टले बताए ।

नाका खुलेपछि लुकिछिपी ल्याइने गरेको घोडा, भेडाच्याङ्गा, याक समेत नाकाबाटै ल्याउन सहज हुने उनले बताए। ‘अब तिब्वती भेडाच्याङ्गा ल्याउन समेत सहज हुन्छ,‘नाका खुलेपछि धेरै सहज भएको छ’ उनले भने । नाका खुलेपछि पहिलोपटक सहजै तिब्वती ब्यापारीबाट भेडा समेत खरिद गरेर ल्याएको उनले बताए ।

तिब्वतका बासिन्दाले नेपाली चामल मन पार्ने भएकाले यताबाट खाद्यान्न साम्रागी अन्तरगत चामल निर्यात गर्न सकिने बताए ।जाडो मौसममा उपल्लो मुस्ताङ छोड्ने स्थानीयले घुम्ती ब्यापारका लागि समेत तिब्वती बजारबाट सामान लिएर आउने तयारी समेत गरेका छन् ।यसपटक खाद्यान्न, लत्ताकपडा सहित कस्मेटिक साम्रागी समेत लिएर घुम्ती ब्यापारका लागि जाने तयारी गरेको लोमन्थाङकी पर्यटन ब्यवसायी कर्चुङ विष्टले बताईन् ।

‘कोरला नाकाले मुस्ताङको मुहार फेरिन्छ, हरेक मुस्ताङीलाई नाका खुलेपछि धेरै फाइदा भएको छ’लोमन्थाङकी अगुवा महिला समेत रहेकी विष्टले भनिन् । उनले पर्यटन ब्यवसायी, ब्यापारी बाहेक सामान्य खेतीकिसानी गर्नेहरूले समेत तिब्वती बजारबाट सामान खरिद गर्ने गरेको बताईन् ।कोरला नाका खुलेपछि चिनियाँ सामानहरू खरिद गरी मुस्ताङीले अन्यत्र समेत बिक्री गर्न थालेका छन् ।

नाका खुलेको करिब एक सातामा तिब्वती सामानहरू तल्लो मुस्ताङसम्म आइपुगेको छ। तिब्तवी बजारबाट घरमा सजाउन प्रयोग हुने साम्रागी तथा पस्मिना सामानहरू खरिद गरेको नेकपा (माओवादी केन्द्र)का नेता ङुटुक गुरुङ (मुस्ताङ टाईगर)ले बताए।

तल्लो मुस्ताङको घरपझोङ गाउँपालिका–३स्याङमा निर्माणधिन अवस्थामा रहेको घरमा बस्नका लागि प्रयोग हुने गलैचा समेत तिब्वती बजारबाट ल्याएका गुरुङले केही महिना तिब्वततर्फ निर्यात भन्दा आयात बढी हुने बताए ।

कोरला नाकाबाट मुस्ताङका पाँच वटै स्थानीय तहका बासिन्दालाई आवतजावत गर्न दिने सहमित भएको थियो । सहमति भएपनि अहिले परिचयपत्र पाएका उपल्लो मुस्ताङका करिब १ हजार जनाले मात्रै नियमित सामान खरिद बिक्री गर्न पाएका छन्।

लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी नर्वु गुरुङ, लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष राजु विष्टले समेत स्थानीयलाई आवश्यकता अनुसारको सामान आयात गर्न र चिनियाँ बजारको माग अनुसारको उत्पादनलाई प्रोत्साहन गरेका छन्। यता मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले दैनिक २ सयको हाराहारीमा मुस्ताङी चिनियाँ बजारमा प्रवेश गर्ने गरेको बताए ।

‘नाका खुलेपछि निकै सहज वातावरण छ,अहिलेसम्म मुस्ताङीलाई कुनै समस्या भएको छैन’ प्रजिअ पन्तले भने ।उनका अनुसार लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिका बाहेक थप पालिकाबासीलाई प्रस्थान प्रवेशपत्र वितरणको प्रक्रिया अघि बढाइएको बताए ।

विगतमा बर्षमा २ पटक हुने व्यापार मेला २०७६ सालको भदौदेखि दलाई लामाको घुसपैठ लगायत सुरक्षा तथा विविध कारण देखाउँदै दोस्रो अन्तरदेशीय व्यापार मेला स्थगित गरेपछि उपल्लो मुस्ताङीलाई निकै समस्या भएको थियो । यसैबीच चिनियाँ पक्षले नाकामा धमाधम पूर्वाधार थपिरहेको अवस्थामा नेपालतर्फ भने पूर्वाधार नै नहुदाँ समस्या भएको छ ।

चीनले नाकामै भव्य संरचना बनाउँदा नेपालले भने बोर्डर आउटरिच पोस्ट (बीओपी) पनि नाका भन्दा १८ किलोमिटर वर नेचुङमा छ। कोरला २४ नम्बर पिलर आसपासमा नेपाली पक्षबाट भौतिक पूर्वाधार बनाउन ढिलाई भएपछि चिनियाँ पक्षले नै पूर्वाधार बनाउन चासो देखाएको छ ।

चिनियाँ टोलीले नाकामा पर्ने नेपाली भूभागमा आवश्यक संरचना बनाउन प्राविधिक सहितको टोली समेत पठाएको थियो छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चीन भ्रमणमा गएका बेला नाका खोल्ने सहमतिसँगै नाकाका लागि चीन सरकारले नेपालमा समेत भौतिक पूर्वाधार निर्माणको सहमति भएको थियो ।

Leave a Reply